८ औं राष्ट्रिय खेलकुद चैत्रको अन्तिम साता हुने

४ चैत्र २०७५, सोमबार १२:००

काठमाडौ , आठौं राष्ट्रिय खेलकुद यहि चैत्रको अन्तिम साता सुरु हुने भएको छ । पूर्वाधार निर्माणका काम सकिएको र भीआइपी प्याराफिटको सामान चाँडै आइपुग्ने भएकाले चैत्रको २१ देखि २५ गते भित्र औपचारिक सुभारम्भ हुने आठौं खेलकुदका प्रचार संयोजक रोहित दाहालले जानकारी दिनु भयो । नेपालगन्जमा सञ्चारकर्मीसँगको छलफलका क्रममा संयोजक दाहालले यहि चैत्र १० गतेसम्म राष्ट्रिय खेलकुद परिषदको बैठक बसी मिति तोकिने बताउनु भयो । राष्ट्रिय खेलकुदको सुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने योजना छ । बाँके, बर्दिया दाङ लगायतका ठाउँमा राष्ट्रिय खेलहरु भए पनि उद्घाटन र समापनसहित अधिकांश खेल नेपालगन्जमा हुने छन् ।खेल अवधि भरीको प्रचार सहजताका लागि नेपालगन्ज रंगशाला परिसरमा मिडिया सेन्टर खुल्ने प्रचार संयोजक दाहालको भनाइ छ ।खेल तयारीका लागि नेपालगन्जमा विभिन्न ६ वटा तयारी समितिका बैठक बसेको प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनु भयो । पूर्वाधार स्थलको अन्तिम अनुगमनका लागि प्राविधिक टोली फिल्डमा खटिएको बताउनु भयो । । नेपालगन्जमा मात्रै आठौं खेलको तयारीका क्रममा डेढ अर्व रुपियाँसम्म लगानी हुने बताईएको छ ।