‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको लक्ष्य प्राप्तिका लागि टेवा पुग्ने उद्देश्यले लगानी सम्मेलनः बास्कोटा

१४ चैत्र २०७५, बिहीबार १७:१५

काठमाडौं , सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको लक्ष्य प्राप्तिका लागि टेवा पुग्ने उद्देश्यले लगानी सम्मेलन आयोजना गरिएको बताउनु भएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको लक्ष्य हासिलका लागि टेवा पुग्ने उद्देश्यले सम्मेलन आयोजना गर्न गइरहेको बताउनु भएको हो ।
उहाँले सम्मेलनमा झण्डै छ सय विदेशी लगानीकर्ता र विकास साझोदार निकायका प्रतिनिधि र सोही संख्यामा गैरआवासीय नेपाली एनआरएन र स्वदेशी लगानीकर्ताहरु सहभागी हुने जानकारी दिनु भयो । सञ्चारमन्त्री बास्कोटाले सम्मेलनमा विभिन्न ४० देशका लगानीकर्ताहरु आउने सुनिश्चतता भएको पनि बताउनु भयो । उहाँले कृषि, जलविद्युत, यातायात, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सार्वजनिक क्षेत्रअन्तर्गत ५० र निजी क्षेत्र अन्तर्गत २७ गरी ७७ परियोजनाका बारेमा लगानीकर्ताहरुलाई जानकारी दिने बताउनु भयो । सञ्चारमन्त्री बास्कोटाले सम्मेलनमा १२ देखि १५ वटा समझदारीपत्र र सम्झौतापत्रमा हस्ताक्षर पनि हुने बताउनु भयो ।