संघीय संसदमा भाषाविज्ञको अभाव, सांसद बोल्छन् सचिवालय बुझ्दैन

१४ चैत्र २०७५, बिहीबार १०:१५

काठमाडौँ , संघीय संसदका दुवै सदनमा सांसदहरूले विभिन्न भाषामा बोलेका कुरा नेपालीमा अनुवाद गर्न अनुवाद इकाई स्थापना गरिएको छ । तर उक्त इकाईमा विभिन्न भाषाअनुसारका कर्मचारीको व्यवस्था नहुँदा कुन सांसदले के बोले भन्नेबारे संघीय संसद सचिवालय नै अन्यौलमा पर्ने गरेको पाइएको छ । प्रतिनिधिसभाको कार्य व्यवस्था महाशाखाअन्तर्गत रहेको सम्पूर्ण विवरण शाखामा अनुवाद इकाई रहेको छ । महाशाखाका सहसचिव बंशिराज पौडेल विभिन्न भाषाका विज्ञ वा कर्मचारी नहुँदा अहिलेसम्मको अनुवाद गर्न नसकिएको बताउँछन् ।

अनुवाद गर्ने कर्मचारी नभएकाले नयाँ वजेटमा यसका लागि वजेट छुट्याउन सुझाव दिने बताउँदै उनी भन्छन्, ‘नेपालीबाहेक अन्य भाषाको अभिलेखमा राख्न पाइएको छैन । नेपाली भाषाबाहेक अरु भाषामा बोले अन्य भाषा भनेर उल्लेख गर्ने गरिएको छ ।

सम्पूर्ण विवरण शाखाका उपसचिव नारायणप्रसाद ढकाल पनि भाषा अनुवादक नभएकाले काम गर्न नसकिएको गुनासो गर्छन् । उनी भन्छन्–‘सांसदले कतिवटा भाषामा बोल्नुहुन्छ र कतिजना अनुवादक चाहिन्छ भन्ने टुंगै छैन ।’

तर अहिलेसम्म सांसदले बोलेका भाषाको गणना गरेर अनुवादक राख्न सकिने ढकाल तर्क गर्नुहुन्छ । संसदमा नेपाली, हिन्दी, मैथिली, भोजपुरी, नेवारी, बज्जिका लगायतका भाषा बढी बोल्ने सांसदहरुको उपस्थिति छ ।यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखनु भएको छ ।