विप्लवको धाँकधम्कीबाट विचलित हुन्नँ अध्यक्ष प्रचण्ड

३० फाल्गुन २०७५, बिहीबार १६:३९

काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताउनु भएको छ । वाइसिएल नेपालले पेरिसडाँडामा बिहीबार आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गर्दै धाँकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने सपना नदेख्न चेतावनी दिनु भयो । पार्टी एकीकरणबाट बलिदानको कृतिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै उहाँले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो भन्दै प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन नसकिने बताउनु भयो । आफूलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू कसैको धम्कीबाट विचलित नहुनेसमेत बताउनु भयो । उहाँले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गर्नु भयो । एकता र सहकार्यका साथ महान् समाजवादको उज्यालोमा पुग्न सकिने पनि उहाँले बताउनु भयो । अध्यक्ष प्रचण्डले शहीदहरु युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराउनु भयो । तल्लो तहसम्म पार्टी एकीकरणको अन्तिम रुपमा केही दिनमा नै हुनेसमेत जानकारी गराउनु भयो ।