महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा अग्रसर हुन राष्ट्रपतिको आग्रह

२४ फाल्गुन २०७५, शुक्रबार ११:२९

काठमाडौँ, आज १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ । उहाँले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।