निर्माण व्यवसायीलाई टेन्डर गरेर होइन, स्थानीयको सक्रियतामा पुनर्निर्माण हुनुपर्छः पम्फा भुसाल

१५ चैत्र २०७५, शुक्रबार ११:०३

काठमाडौं , नेकपा सांसद तथा पूर्वमन्त्री पम्फा भुसालले सम्पदा पुनर्निर्माणमा राज्य निरीह देखिएको बताउनु भएको छ । युरोपियन युनियनले ऐतिहासिक बुङ्मती सम्पदा क्षेत्र पुनर्निर्माणका विषयमा आयोजना गरेको स्थानीयसँग छलफल कार्यक्रममा नेतृ भुसालले यस्तो बताउनु भएको हो । “सबै राजनीतिक दलको भूमिकाले एकात्मक शासन प्रणाली विरुद्ध लड्दै लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लेख्न सफल भयो । तर भूकम्पले क्षति पुर्याएको बस्तीको पुनर्निर्माणमा राज्य निरीह देखियो,” भुसालले भन्नु भयो । “बुङ्मती संसारमै अन्यत्र नभएका अमूल्य सम्पदाले भरिपूर्ण क्षेत्र हो । रातो मछिन्द्रनाथको जात्रा र रथ यहाँको विशेष सम्पदा हो । यहाँको दुर्लभ मछिन्द्रनाथ मन्दिरको गजुर डलेको ३ वर्ष बितिसक्दा पनि बनाउन सकिएको छैन ।”
भुसालले दाताको ऋण लिएपछि उनीहरुकै स्वार्थमा पुनर्निर्माण हुने भएकाले बुङ्मती पुनर्निर्माणमा पनि साही खतरा रहनसक्ने बताउनु भयो । “भूकम्पपछिको पुनर्निर्माणमा दाताहरु शक्तिशाली देखिए, राज्य निरीह देखियो । तत्कालीन प्रधानमन्त्री ओलीज्यूले शिलान्यास गर्नुभएको यो क्षेत्र आजसम्म पुनर्निर्माण हुन सकेकौ छैन । यस क्षेत्रको पुनर्निर्माणमा श्रीलङ्का सरकारले पनि प्रतिवद्धता देखाएको थियो,” भुसालले प्रश्न गर्नु भयो । “उक्त प्रतिवद्धता किन कार्यान्वयन भएन ? ” भुसालले सम्पदा क्षेत्रको मौलिकता बचाउन निर्माण व्यवसायीलाई टेन्डर गरेर होइन, स्थानीयको सक्रियतमा पुनर्निर्माण हुनुपर्नेसमेत बताउनु भयो ।