धुर्मुस–सुन्तलीद्वारा ‘मातृभूमि कप मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना

५ चैत्र २०७५, मंगलवार १७:४४

काठमाडौं , यही चैत २३ गते काठमाडौंमा धुर्मुस–सुन्तली फाउन्डेशनले ‘मातृभूमि कप मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । फाउन्डेशनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।

चर्चित हास्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने कार्यमा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ चैत २३ गते सो प्रतियोगिता आयोजना गर्न लागेको हो । कीर्तिपुरस्थित क्रिकेट मैदानमा सो खेल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएको छ ।

मुलुकको गौरव हुने गरी बनाउन लागिएको सो रंशशालामा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका काठमाडौंमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको फाउनडेशनकी संस्थापक कुुञ्जना घिमिरे ‘सुन्तली’ ले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न सबैलाई अपिल गरे ।

प्रतियोगितामा कलाकार र राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । क्रिकेट खेलाडीहरुको टिमको नेतृत्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने कलाकारहरुको टिमको नेतृत्व वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन् ।

फाउन्डेशनले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो खेल हेर्न ३ सय र १ हजार दरको टिकटको पनि व्यवस्था गरेको छ ।