चन्द समूहमा एक्लिए विश्वकर्मा

१० चैत्र २०७५, आईतवार ०९:३४

काठमाडौँ , नेक्रवित्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेका गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् । सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो । लगत्तै कपिलवस्तु आसपास बसेको स्थायी कमिटी बैठकले माघ २८ गते राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनलाई सुम्पेको थियो । स्रोतअनुसार त्यसपछि दाङ वरपर बसेको अर्को बैठकमा उनले रिहाइका लागि गरेका सबै गतिविधिमा पार्टीले आशंका गर्‍यो ।विश्वकर्माले रिहाइका लागि सत्तापक्ष र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई गुहारेको भन्दै चर्को आलोचना भयो । विश्वकर्माले अखिल क्रान्तिकारीका विद्यार्थी अध्यक्ष चिरञ्जीवी ढकालमार्फत नेता भट्टराईसमक्ष पहल गरिदिन अनुरोध गरेको बताइएको छ ।

भट्टराईले संघीय संसद्मा विश्वकर्माको रिहाइका लागि सरकारसँग माग गरेका थिए । रिहाइपछि पक्राउ हुन नदिन राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक न्यायालय पुगेका थिए । ‘पार्टीलाई कुनै जानकारी नदिई विश्वकर्माले सरकारसँग वार्ता गर्ने कुरा गरे, यो पार्टीको निर्णय थिएन । उनी आफैंले सरकारसँग के के गरे, पार्टीलाई जानकारी थिएन,’ स्थायी कमिटीका एक सदस्यले कान्तिपुरसँग भने, ‘त्यसपछि उनका गतिविधिप्रति स्थायी कमिटीमा चर्को बहस भयो । हाल उहाँ शंकाको घेरामा हुनुहुन्छ । महासचिवसँग सम्पर्कमा हुनुहुन्न ।’ हाल उपत्यकामै रहेका विश्वकर्मा निष्क्रिय जस्तै छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।