कसरी परीक्षा दिनेः कक्षा ८ को परीक्षा दिन ४ घण्टाको बाटो

२३ फाल्गुन २०७५, बिहीबार १०:२७

सिन्धुपाल्चोक , मेलम्ची नगरपालिकाले ८ कक्षाको परीक्षा केन्द्र तोकेपछि मेलम्ची बासबारीकी कक्षा ८ मा अध्ययनरत सरिता लुइँटेल चिन्तित छिन् । परीक्षा दिन कम्तीमा चार घण्टा उनले हिँडनु पर्नेछ ।
‘हाम्रो विद्यालयको परीक्षा केन्द्र मेलम्ची नपा ४ हैबुङ थकनीगाउँको कृष्ण माध्यमिक विद्यालयमा तोकिएको छ, कसरी भ्याउने यही चिन्ता छ,’ सिन्धु पुरानागाउँ माविमा अध्ययनरत लुइँटेलले भनिन् । मेलम्ची नगरको माथिल्लोगाउँ सुलिकोट घ्याङ गाउँबाट स्कुल आउन ३ घण्टा लाग्ने १५ वर्षका तेम्बा लामालाई हिँड्नुकै समस्याले पिरोल्न थालिसकेको छ । ‘परीक्षा दिन नभ्याउलाजस्तो लाग्यो, स्कुल आउनै ३ घण्टा लाग्छ, परीक्षा दिन त ६ घण्टा हिँड्नुपर्ने भयो,’ लामाले भने ।
आगामी चैत ७ गतेदेखि चल्ने कक्षा ८ को परीक्षाका लागि शिक्षा शाखाले नगरभित्र कक्षा ८ सम्म चलाइरहेका विद्यालयका लागि १४ स्थानमा परीक्षा केन्द्र तोकेको छ । ‘झन्डै तीन घण्टा हिँडेर परीक्षा दिएपछि कसरी शैक्षिक उन्नति होला । नगरले बालमैत्री रूपमा सोच्नुपर्ने होइन र रु,’ मेलम्ची नगर ५ स्थित सिन्धु पुरानागाउँ माविका प्रधानाध्यापक कुमार खतिवडाले प्रश्न गरे । उनले नगरले परीक्षा केन्द्र टाढा तोकेपछि विद्यालयलाई गुनासो र छलफल गर्ने अभिभावकको लर्को लागेको सुनाए ।
‘अधिकांश बालबालिकालाई घरबाट परीक्षा केन्द्रसम्म आउजाउ गर्दैमा पाँच घण्टा बित्छ, सास्तीपूर्ण हिँडेर परीक्षा कसरी दिन्छन्,’ उनले भने । ‘एसईई परीक्षामा पनि यस्तो तरिका अपनाइएको छ, कक्षा ८ मा यो नितान्त नयाँ अभियान हो,’ मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भने । उनले नगरमा शैक्षिक गुणस्तर उकास्ने लक्ष्य राखेर अध्ययनरत विद्यालयबाहेक अन्यमा परीक्षा केन्द्र तोकेको बताए । यो वर्ष परीक्षण गरेर शिक्षाको प्रगति तथ्यांक निकाल्ने दाबी गरे । ‘आफू अध्ययन गरेको छोडेर नगरले तोकेको परीक्षा केन्द्रमा परीक्षा दिनुपर्नेछ, यो अनिवार्य गराइएको छ,’ उनले भने ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।