हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु

१५ फाल्गुन २०७५, बुधबार १७:०५

काठमाडौं, हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । गृहप्रवक्ता रामकृष्ण सुवेदीले ७ जनाको मृत्यु भएको पुष्टि गर्नु भएको हो ।
प्रवक्ता सुवेदीले मौसमका प्रतिकूलताका कारण वुधबार ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको दाबी गर्नु भयो । उहाँले दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको समेत बताउनु भएको छ । घटनास्थलमा मन्त्री र मन्त्रीका पिएसओका शव चिन्न सक्ने अवस्थामा रहेको र अन्यको शव चिन्न नसकिने अवस्थामा रहेको समेत उहाँले बताउनु भयो । अहिले घटनास्थलमा सेनाको एमआई १७, सिम्रिक र डाइनेष्टीका एक–एकवटा हेलिकोप्टर गएको तर अवतरण गर्न नसकेको समेत प्रवक्ता सुवेदीले बताउनु भयो । घटनास्थल निकै भिरालो र अप्ठ्यारो ठाउँमा भएकोले उद्धारका लागि करिब २ घण्टा लाग्ने समेत प्रवक्ता सुवेदीले बताउनु भयो । दुर्घटनामा परि हेलिकोप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।