सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैनः पूर्वराजा ज्ञानेन्द्र

७ फाल्गुन २०७५, मंगलवार १४:१७

काठमाडौं , पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र दिन प्रतिदिन कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गर्नु भएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै राजाले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्नु भएको हो । उहाँले दिन प्रतिदिन देश कमजोर बन्दै गएको र युवाहरू विदेश पलायन हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
पछिल्लो समय सक्रिय बन्दै देशका विभिन्न भूभाग पुगिरहेका पूर्व राजा लोकप्रिय बनिरहेका बेला सार्वजनिक भएको यस धारणालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कम्युनिस्टको लोकप्रियता घटेका बेला ज्ञानेन्द्र शाहले देशका विभिन्न ठाउँमा भ्रमण र भेटघाट गर्न थालेपछि नेकपाका नेताहरू आत्तिएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा झन् कडा विज्ञप्ति आएपछि कम्युनिस्टहरूमा खैलाबैला मच्चिएको छ । यसअघि ज्ञानेन्द्रका गतिविधिप्रति प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

यस्तो छ पूर्व राजाको विज्ञप्ति
नेपाली दिदीबहिनी तथा दाजूभाइहरू,
प्रजातन्त्र दिवसका अवसरमा आज हामी हाम्रा जिजूबूवा राष्ट्रपिता श्री ५ त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सवैको स्मरण गर्न चाहन्छौं ।
हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो। सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन। जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन।
आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको छ। यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक युवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रतिदिन कमजोर बनिरहेको छ ।
शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हून नहूने र दण्डहिनता एवं विधिविहीनताले विकराल स्थितिको सृजना हून नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहूँचमा हूनूपर्दछ भन्ने हाम्रो मान्यता हो ।
त्यसैगरी, हाम्रो आफ्नो सनातनिक धर्म, संस्कृति र हाम्रै आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रकृयाबाट आक्रान्त भएको कहालीलाग्दो दुखद अवस्था देखा परेको छ । त्यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानू पर्दछ भन्ने हाम्रो दृढ धारणा रहेको छ ।
नेपालको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हामीले हाम्रो परराष्ट्र तथा मैत्री सम्बन्धलाई सूमधूर, शालीन र सौम्य कूटनीतिक व्यवस्थाद्वारा हामीप्रतिको आधारभुत विश्वसनीयता स्वस्थरुपमा अघि बढाउन सक्नुपर्दछ ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।