विदेशमा मृत्यु र अङ्गभङ्ग हुनेलाई स्थानीय तहबाटै आर्थिक सहायता

८ फाल्गुन २०७५, बुधबार ०९:४९

काठमाडौँ , सरकारले विदेशमा मृत्यु भएका परिवारका सदस्य र अङ्गभङ्ग भएर फर्किएका पीडितलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

आर्थिक सहायताका लागि राजधानीस्थित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयमा आउनुपर्ने अहिलेको अवस्थालाई सहज बनाउन सरकारले स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको हो ।

बोर्डले स्थानीय तहको समन्वयमा आर्थिक सहायता निर्दे्शिका –२०७५ मस्यौदा तयार गरेर अन्तिम रूप दिएर स्वीकृति गर्न मन्त्रालयलमा पठाएको छ । उक्त निर्दे्शिका स्वीकृत भएर आएपछि स्थानीय तहबाट सहायताबापतको रकम दिन शुरु गरिने बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार नियमावलीअनुसार रोजगारको करार अवधिभित्रमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डबाट सात लाख रूपियाँ आर्थिक सहायता पाउँछन् । त्यसको लागि मृत्यु भएको एक वर्ष्भित्र निवेदन दिएमा ज्यान गएका व्यक्तिका परिवारलाई बोर्डले एकै दिनमा चेक दिने व्यवस्था गरेको छ । अङ्गभङ्ग भएका व्यक्तिको हकमा पनि करार अवधिभित्रै अङ्गभङ्ग भएर फर्किएका व्यक्तिले अपाङ्गताको अवस्थाका आधारमा आर्थिक सहायता रकम प्राप्त गर्न सक्छन् । त्यसका लागि पीडित व्यक्ति वा परिवारले चिकित्सकले अङ्गभङ्ग भएको अवस्थाबारेमा प्रमाणित गरेको कागजका आधारमा बढीमा सात लाख रूपियाँ सहायता रकम प्राप्त गर्नसक्ने व्यवस्था छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेख्नु भएको छ ।