प्रजातन्त्र दिवस र यसको महत्व

७ फाल्गुन २०७५, मंगलवार १४:५५


श्रीधर खनाल,

एक सय चार वर्ष लामो राणाशासन अन्त्य भई प्रजातन्त्र घोषणा भएको दिन फागुन ७ लाई प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आइएको छ । फागुन ७ मुलुकको राजनीतिक इतिहासमा निकै महत्वपूर्ण दिन हो । २००७ साल फागुन ७ अघि मुलुकमा जहानियाँ राणा शासन थियो । राणा परिवारका सदस्यबाहेक अरूलाई मुलुकका माथिल्ला पदहरूमा पुग्ने कुनै अवस्था नै थिएन । राणाहरूले आफ्नो परिवार तथा वंशभित्रै रोलक्रम तयार गरेर शासन सत्ता सञ्चालन गर्ने गर्थे । शासन सत्ता निरंकुश थियो । शासकहरूको हुकुम कानुनभन्दा माथि हुन्थ्यो । जनतालाई शासकहरूले रैती वा दास सरह व्यवहार गर्थे । शिक्षा, स्वास्थ्य, सुशासनजस्ता आधारभूत कुराहरूसमेत राज्यको दायित्वभित्र पर्दैनथे । मुलुक अन्धाकार थियो, शासकहरूको ज्यादती सहेर बस्नुबाहेक जनताका लागि अर्को विकल्प थिएन । यो ज्यादतीको अन्त्य २००७ सालको जनक्रान्तिले गरेको हो ।राणाशासन अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसले २००७ साल कात्तिक २५ गते सशस्त्र संघर्ष आरम्भ ग¥यो । माघ ३ गते राणा शासकहरूले घुँडा टेके । भारतमा निर्वासित भएर बसेका तत्कालिन राजा त्रिभुवन शाह स्वदेश फर्केर फागुन ७ गते प्रजातन्त्रको घोषणा गरे ।