निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भवः पूर्वप्रम भट्टराई

३ फाल्गुन २०७५, शुक्रबार ११:५८
100

पोखरा , नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको आरोप लगाउनु भएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताउनु भयो । सरकारले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्नुपर्ने भए पनि केवल सामान्य क्रमिक विकासका क्रममा अघि बढेको बताउँदै उहाँले देशको अर्थतन्त्र पनि मजबुत बन्न नसकेको बताउनु भयो । निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको उल्लेख गर्दै उहाँले लगानीको वातावरण तयार गर्दै अघि बढ्नुको विकल्प नभएको बताउनु भयो । नयाँ शक्ति पार्टीले असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा जारी राखेको बताउँदै उहाँले यात्राका क्रममा मध्यपहाडी राजमार्गको निर्माणकार्यको अवलोकन, आसपासको जनजीवनको अध्ययन, समस्याको पहिचान र राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा सर्वसाधारणसँग संवाद गरिएको बताउनु भयो ।