देउवा र अधिकारी अख्तियारको घेरामा

१३ फाल्गुन २०७५, सोमबार ०९:५७

काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा संलग्न सबैलाई बयानका लागि बोलाउने भएको छ । संसदीय समितिले ४ अर्ब ३५ करोड बढी घोटाला भएको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले छानबिन सुरु गरेको हो ।
खरिद प्रकरणमा मुछिएका सबैलाई अख्तियारले पालैपालो बयान लिने भएको छ । सुरुमा वर्तमानसहित तीन पर्यटन मन्त्री र भूतपूर्व पर्यटन सचिवलाई समितिले दोषी देखाएको थियो । तर, एक मन्त्री संलग्न नदेखिएको र सो समयमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा संलग्न देखिएका थिए ।
विमान ल्याउनका लागि पठाइएको पहिलो किस्ताको रकम पठाउँदा देउवाले नै सो मन्त्रालय सम्हालेपछि उनलाई पनि बयानका लागि बोलाउने तयारी भइरहेको हो । पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग पनि अख्तियारले बयान लिने तयारी गरिरहेको छ । अख्तियार स्रोतका अनुसार हालसम्म एकजना पूर्वपर्यटनमन्त्रीको वयान लिने काम भइरहेको छ । यद्यपि, ती पूर्वमन्त्रीको वयान भने आइतवार पनि सकिएको छैन ।
अख्तियार स्रोतले भन्यो, ‘अनियमिततामा जोडिएका सबैसँग पालैपालो वयान लिन्छौं । एक पूर्वमन्त्रीको वयान लिनेक्रम जारी छ, सोमबार नभए मंगलबारसम्म सकिन सक्छ ।’ अख्तियारले पालैपालो पत्र काटेर बयानमा आउन भनिरहेको स्रोतले जानकारी दिएको छ । यद्यपी को सँग कहिले बयान लिने भन्ने विषय भने गोप्य राखिएको छ । यो समाचार आजको सौर्य दैेनिकमा छापिएको छ ।