अधिकारीको राजनीतिक यात्रा

१६ फाल्गुन २०७५, बिहीबार १०:३९


०२६ साल वैशाख २२ गते जन्मिएका रबिन्द्र अधिकारी ०३७ सालदेखि विद्यार्थी संगठनमा आवद्ध भए । ०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरु गरेपछि भने उनी अझ बढी सक्रिय हुन थाले । अधिकारी ०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष भए । एक वर्ष माध्यमिक विद्यालयमा अध्यापन गरेका अधिकारी ०४५ सालमा अनेरास्ववियुको कास्की जिल्ला कमिटी अध्यक्षमा चुनिए । अधिकारीले पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएका कारण ०४६ सालमा ८ महिना जेल जीवनसमेत बिताएका थिए ।
०४७ सालमा अनेरास्ववियुको गण्डकी अञ्चल अध्यक्ष भएका उनी ०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सभापति निर्वाचित भएका थिए । ०५३ सालमा उनी त्रिभुवन विश्वविद्यालय किर्तीपुरको स्ववियु सभापति निर्वाचित भए ।
०५३ सालमै स्ववियु काउन्सिलका संयोजक निर्वाचित भएका उनी ०५६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष चुनिए ।
उनी एमाले कास्कीको जिल्ला कमिटी सदस्य हुँदै सचिव र अध्यक्षमा समेत निर्वाचित भए । उनी ०६४ सालको संविधानसभा निर्वाचनमा कास्कीबाट विजयी भएका थिए । यस्तै, ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पनि कास्की बाटै निर्वाचित भए । त्यसबेला उनले संसदको विकास समिति सभापतिका रुपमा भुमिका निभाएका थिए । ०७४ को आम
निर्वाचनमा अधिकारी तेस्रोपटक पुनः कास्कीबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपाका केन्द्रीय सदस्य रहेका उनका दुईवटा पुस्तक प्रकाशित छन् ।