सम्मान थाप्न जाँदा दैनिक भ्रमण भत्ता लिन्छन् संघीय संसद्का मुख्य पदाधिकारीहरू

१७ माघ २०७५, बिहीबार ०९:५३

काठमाडौँ , संघीय संसद्का मुख्य पदाधिकारीहरूले आफ्नो गृह र अन्य जिल्लाका विभिन्न कार्यक्रम उद्घाटनमा जाँदासमेत दैनिक भ्रमण भत्ता लिइरहेका छन् । सूचनाको हक प्रयोग गरी संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्षले आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा जाँदा भत्ता लिएका हुन् ।

भ्रमणमा जाने निजी सचिवालयका कर्मचारीलाई उपलब्ध गराएको भत्ता र अन्य खर्चको जानकारीसमेत माग गरिएकामा ती विवरण भने सचिवालयले दिएन ।

राष्ट्रिय सभाका अध्यक्षमा निर्वाचित भएपछि गणेशप्रसाद तिमिल्सिना चैत ५ गते गृह जिल्ला पर्वत गए । उनलाई जिल्लामा विभिन्न स्थानमा स्वागत कार्यक्रम राखिएको थियो । दुई दिनपछि फर्किए । अध्यक्ष चुनिएको खुसी साट्न जाँदा उनले संघीय संसद्बाट दैनिक भ्रमण भत्ताबापत ६ हजार ७ सय ५०, जहाज भाडा ९ हजार ९ सय रुपैयाँ बुझे ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ९ मा संघीय संसद्को कामको सिलसिलामा नेपालभित्र वा बाहिर भ्रमणमा जाँदा मात्रै पदाधिकारीलाई दैनिक भ्रमण भत्ता दिने व्यवस्था छ । पदाधिकारीले दैनिक भम्रण भत्ता लिएर काठमाडौं बाहिर गएका कुनै पनि कार्यक्रम संसद्को कामसँग सम्बन्धित छैन ।

सभामुख कृष्णबहादुर महरा असोज २२ देखि २८ सम्म निर्वाचन क्षेत्र दाङमा गए । यसबापत उनले दैनिक भ्रमण भत्ता ९ हजार ७ सय ५०, जहाज खर्च ६ हजार २ सय लिएका छन् । उपसभामुख शिवमाया तुम्बाहाम्फे र उपाध्यक्ष शशिकला दाहालले पनि जिल्ला भ्रमण भत्ता लिँदै आएका छन् ।

सचिवालयले उपलब्ध गराएको विवरणअनुसार अध्यक्ष तिमिल्सिनाले चैत ५ देखि पुस ६ सम्म भ्रमण भत्ता, जहाजको टिकट र इन्धन खर्चबापत २ लाख ४१ हजार ४ सय ९४ रुपैयाँ बुझेका छन् । यसमा दैनिक भ्रमण भत्ता मात्रै १ लाख ४६ हजार २ सय ७० रुपैयाँ छ । तिमिल्सनाले धारा उद्घाटनदेखि कारागार निरीक्षण गर्न जाँदासमेत भत्ता लिएका छन् । यसमा उनीसँगै गएका सचिवालयका कर्मचारीको खर्च समावेश छैन ।

सभामुख महराले असार ५ देखि पुस ९ सम्म दैनिक भ्रमण भत्ता, जहाज भाडा, इन्धन खर्चसहित ३ लाख ८ हजार रुपैयाँ खर्च लिएका छन् । यसमा दैनिक भ्रमण भत्ताबापत ७२ हजार, जहाज भाडा ८६ हजार, इन्धन खर्च १ लाख ४९ हजार संसद् सचिवालयबाट लिएका छन् । भत्ता लिएर उनी १४ दिन दाङ गए भने पोखरामा ३, रोल्पा ६, चितवन ३, उदयपुर २ दिन बिताए ।

दाहालले चैत १७ देखि मंसिर १७ सम्म दैनिक भ्रमण भत्ता, जहाज भाडा र इन्धन खर्चबापत २ लाख ५६ हजार रुपैयाँ लिएकी छन् । यसमा दैनिक भ्रमण भत्ताबापत १ लाख ५७ हजार, जहाज भाडाबापत ४२ हजार र इन्धनबापत ५५ हजार ८ सय रुपैयाँ छ । गृह जिल्ला महोत्तरी जाँदा मात्रै ४४ दिनको भत्ता लिएकी छन् ।

तुम्बाहाम्फेले चैत २२ देखि कात्तिक १५ सम्म २ लाख १८ हजार २ सय ७० रुपैयाँ लिएकी छन् । गृहजिल्ला मोरङ जाँदा मात्रै ६६ हजार ७ सय ५० रुपैयाँ दैनिक भ्रमण भत्ता लिएकी छन् । उपसभामुख भएपछि पहिलो पटक उनी चैत २२ मा गृह जिल्ला मोरङ जाँदा पनि भत्ता लिएकी छन् ।

सभामुख महरा संविधान र संघीयता कार्यान्वयन विषयक अन्तक्र्रिया कार्यक्रम उद्घाटन गर्न मंसिर ८ मा गाईघाट गएका थिए । पोखरामा कात्तिक ९ मा पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता उद्घाटन गर्न र रोल्पा–पोखरा सम्पर्क समाजको पोखरामा निर्माणाधीन भवन अवलोकन गर्न जाँदा पनि भ्रमण भत्ता लिए । महरा पुस ७ मा रोल्पाकै बालकल्याण माविका पूर्वविद्यार्थीको भेला उद्घाटन गर्न गएका थिए । उनी यो विद्यालयका पूर्वशिक्षक र विद्यार्थी पनि हुन् । यहाँ जाँदा महराले दैनिक भ्रमण भत्ताबापत ४ दिनको ६ हजार भ्रमण भत्ता, जहाज भाडा १२ हजार ४ सय ७० र इन्धन खर्च ५० हजार १ सय ४७ लिएका छन् ।

असोज २२ देखि २८ सम्म दाङ गएका बेला उनी रिपोर्ट्स क्लब दाङको ८ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह र १५ शय्याको अस्पताल स्थापना घोषणा कार्यक्रम कार्यक्रममा सहभागी भए । यस अवधिमा पनि उनले भत्ता र तेल खर्च लिए । उनी साउन ८ मा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस भवन शिलान्यास गर्न, ९ साउनमा दाङको तुलसीपुरमा श्रद्धाञ्जली कार्यक्रममा र सहिद परिवार तथा जनताका माग र गुनासा सुन्न गएका थिए । तुलसीपुरस्थित निर्माणाधीन बसपार्क अवलोकन गर्न जाँदा, जनकल्याण मावि दुधरासमा इन्जिनियरिङ कलेज भवन शिलान्यास गर्न, दाङको बेलझुन्डीस्थित रंगशाला शिलान्यास गर्न जाँदा पनि भत्ता लिए ।

कात्तिक ३० मा दमौली, तनहुँको व्यास गुफा अवलोकन, तेस्रो आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव उद्घाटन गर्न कात्तिक ३० मा गए । यसबापत भत्ता मात्रै ६ हजार ७ सय ५० रुपैयाँ बुझेका छन् । इन्धन खर्च ३० हजार ८ सय ५६ रुपैयाँ लिएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गृहजिल्ला पर्वत गएको दिनलाई समेत सचिवालयले उपलब्ध गराएको विवरणमा कास्की गएको भनेर झूटो विवरण उपलब्ध गराएको छ । कास्की गएको भनिएको ५० दिनको विवरणअनुसार ती दिनमा उनले दैनिक भत्ता र जहाज भाडा लिएका छन् ।

तिमल्सिनाले मंसिर ८ गते पर्वतको होस्राङी खानेपानी तथा सरसफाइ योजना उद्घाटन गरेका थिए । सचिवालयले उनको ढाकछोप गर्दै उनी कास्की गएको विवरण उपलब्ध गराएको छ । वैशाख ६ मा विभिन्न विद्यालयका ५ विद्यार्थीलाई भर्ना गर्दा अभिभावकत्व ग्रहण गरेका थिए । पर्वत जाँदा उनले भत्ताबापत ९ हजार ७ सय ५०, जहाज भाडा ९ हजार ९ सय रुपैयाँ बुझेका छन् ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पदाधिकारीलाई नियमअनुसार पाउने सुविधा उपलब्ध गराइएको बताए । ‘विशिष्ट पदाधिकारीले पाउने सुविधाअनुसारै उपलब्ध गराइएको भत्तालाई नियमविपरीत भन्न मिल्दैन,’ उनले दाबी गरे ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।