सञ्चारक्षेत्रलाई बिभेद गरियोः आचार्य

१८ पुष २०७५, बुधबार ०९:५३

बाँके । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मुलुकको हरेक क्षेत्रमा संघीयता कार्यान्वयन भइरहे पनि सञ्चारक्षेत्रमा अझै पनि संघीयता लागू हुन नसकेको बताउनु भएको छ ।

मुलुक संघीयतामय भइरहेको वेला संचार क्षेत्रमा अझै पनि केन्द्रीकृत शासन व्यवस्था हावी हुनु सञ्चारक्षेत्रका लागि दुःखद रहेको उहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ बाँके शाखाको १२औँ वार्षिक साधारणसभाको सोमबार नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष आचार्यले संचार क्षेत्रको प्रेस कार्डदेखि लिएर दर्ता, नियमन, वर्गीकरण, विज्ञापनलगायत हरेक काम केन्द्रबाटै हुने गरेकोले राजधानी बाहिरका सञ्चार क्षेत्रलाई विभेद भएको बताउनु भयो ।
०६२(६३ को जनआन्दोलनका वेला देशमा लोकतन्त्र ल्याउनका लागि सञ्चार जगतले खेलेको भूमिका तथा समाजलाई सही तथा सकारात्मक बाटो देखाउने सञ्चारकर्मीको योगदान कसैले बिर्सिन नहुने उहाँको भनाइ रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले कल्याणकारी विज्ञापनमा समेत सरकारले मोफसललाई विभेदपूूर्ण तरीका अख्तियार गरेको आरोप लगाउनु भयो ।

जसरी सञ्चार क्षेत्रलाई राज्यको चोथो अंगको रूपमा परिभाषित गर्ने गरिन्छ, सोहीअनुसार सञ्चार क्षेत्रलाई राज्यले लगानी पनि गर्नुपर्ने उहाँले जिकिर गर्नु भयो । राज्यको चार वटै अंगहरू मध्ये चौथो अंग मानिएको सञ्चार जगतको भूूूमिका तथा दायित्व पनि महत्वपूूर्ण रहेकोले अरू ३ वटाभन्दा सञ्चार जगतलाई फरक ढंगले लगानी गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

सोमबार साधारणसभाको नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष आचार्यले अहिलेसम्म जे जसरी भए पनि अबदेखि संघीय संरचना अनुसार पत्रपत्रिकाको वर्गीकरण लगायतका काम प्रदेश र स्थानीय तहबाटै हुनुपर्ने बताउनु भयो । उहाँले स्थानीय वा प्रदेशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध कानुुन बनाउन नसक्ने बताउनु भयो । पत्रकारहरूलाई पत्रकार आचारसंहिताभित्र रहेर काम गर्न अनुरोध गर्दै प्रत्येक पत्रकारले नागरिक अपेक्षा पनि पूरा गर्नुपर्ने उहाँले बताउनु भयो ।

महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारूको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष विपुल पोखरेल, नेपालगञ्जका मेयर डा। धवलशबशेर राणा, नेकपाका नेता अशोक कोइराला, नेपाली कांग्रेसका सभापति किरण कोइराला, प्रदेशसभा सदस्य आइपी खरेल, कृष्ण केसी र मो। याकुब अन्सारी, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।साधारणसभाको बन्द सत्रले सचिव तिलक गाउँलेको सांगठनिक र कोषाध्यक्ष केशव रानाको आर्थिक प्रतिवेदन पारित गरेको छ ।