शेरबहादुर देउवाको निवासमा धर्ना

३ माघ २०७५, बिहीबार ११:२५

काठमाडौं,  नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ को म्याद थपिएको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् । दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवास वरपर सुरक्षा तैनाथी बढाइएको छ ।

विधानअनुसार बुधबारसम्म नेविसंघको म्याद थियो, तर कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ । पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता–कार्यकर्ताहरु विरोधमा छन् ।यसअघि पटक–पटक म्याद थप भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविसंघको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन सकेन ।नेविसंघका उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते नै पदबाट राजीनामासमेत दिइसकेका छन् ।नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद यही माघ २ गते सकिएको छ ।