वाइडबडीमा मैले कुनै निर्णय गरेको छैनः सभापति देउवा

३० पुष २०७५, सोमबार ११:४७

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्नु भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको उहाँको तर्क छ ।

सोमबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नु भयो ,‘भर्खर प्रधानमन्त्री भएको बेला थियो । १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए । कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन । मैले मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन ।’आफ्नो जानकारी विना केही भएको भए आफूलाई थाहा नभएको उहाँले बताउनु भयो । नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय प्रधानमन्त्री देउवासँगै भएको बेला विमान खरिदका लागि रकम भुक्तानी भएको हालै सार्वजनिक भएको थियो ।