राजपाको अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादव बन्दै

३ माघ २०७५, बिहीबार १६:३९

राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्षमण्डलका संयोजक पुनः फेरिने भएको छ ।दुई दुई महिनामा चक्रीय प्रणालीका आधारमा अध्यक्षमण्डलको संयोजक फेर्ने प्रावधान राजपा नेपालमा रहेको छ । त्यसका आधारमा अब महेन्द्रराय यादव संयोजक हुनु हुने भएको छ ।


२०७४ वैशाखमा राजपा नेपाल गठन हुँदा महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजक बनाइएको थियो । तर महाधिवेशनसम्म संयोजक नफेर्ने भन्दै आपसी सहमतिका आधारमा ठाकुरलाई नै संयोजकमा नियमित गरेको थियो तर मङ्सिर ४ गते अध्यक्षमण्डलको बैठक बसेर ठाकुरलाई सो पदबाट हटाएर राजेन्द्र महतोलाई बनाएको थियो ।

ठाकुरलाई हटाएर राजेन्द्र महतो संयोजक बनेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । ठाकुर पक्षले विधानविपरीत हटाएको भनी दाबी गर्दै आएको थियो । यता, ठाकुर संयोजक रहेको अवस्थामा पार्टीमा जथाभावीगरेको कारण हटाएको दाबी महतो पक्षले गरेको छ ।

दुई(दुई महिनामा अध्यक्षमण्डलको संयोजक फेर्ने पार्टी विधानमा रहेको प्रावधानलाई लागू गर्ने भनेर नै महतो पछि महेन्द्र राय यादव संयोजक बन्न लाग्नु भएको हो ।

शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर महेन्द्रराय यादवलाई संयोजक सुम्पिने बताइएको छ । महेन्द्रराय यादव हाल उपचारका लागि दिल्ली जानु भएको छ ।