म्यानचेस्टर सिटीलाई न्युक्यासल युनाइटेडले नमिठो धक्का दियो

१६ माघ २०७५, बुधबार १४:१५

एजेन्सी इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुललाई पछ्याई रहेको म्यानचेस्टर सिटीलाई न्युक्यासल युनाइटेडले नमिठो धक्का दिएको छ । मंगलबार राति भएको खेलमा सिटी न्युक्यासलसँग २–१ गोलले पराजित भयो । सिटीको हारले लिभरपुललाई फाइदा पुगेको छ ।

घरेलु मैदानमा बलियो सिटीलाई हार चखाउन जोसे सलोमोन रोनडोनले ६६ औं र माट रिट्चीले ८० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता सिटीले लिएको थियो । सिटीका सर्जियो अग्विरोले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेका थिए । त्यसपछि सिटीले थप गोल फर्काउन सकेन ।

न्युक्यासलसँगको हार सिटीका लागि निकै महंगो परेको छ । सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी एक अंकले छोट्याउने मौका गुमायो । दोस्रो स्थानमा रहेको सिटीले २४ खेलमाट ५६ अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ६० अंक छ । २४ अंक बनाएको न्युक्यासल १४ औं स्थानमा छ ।

मंगलबार राति नै भएको अर्को खेलमा आर्सनलले कार्डिफ सिटीलाई २–१ गोलले हरायो । जितसँगै आर्सनल म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ । आर्सनलको जितमा पिर्रे इमरिक औवामियाङले ६६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । एलेक्सान्द्रे लाकाजेट्टीले ८३ औं मिनेटमा गोलगर्दै आर्सनलको अग्रता दोब्बर बनाए । कार्डिफका लागि ९० औं मिनेटमा नाथनाईल मेन्डेज लाइङले सान्त्वना गोल फर्काए ।

युनाइटेड मंगलबार नै बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । आर्सनलले चौथोँ स्थानमा रहेको चेल्सीसँग अंक बराबरी गरे पनि गोल अन्तरमा पछि परेको हो । आर्सनलले २४ खेलबाट ४७ अंक बनाएको छ । एक खेल कम खेलेको चेल्सीको पनि समान ४७ अंक छ । युनाइटेड ४५ अंकसहित छैटौ स्थानमा छ । मंगलबार राति नै भएको प्रिमियर लिगका अन्य खेलका फुलहामले ब्राइटनलाई ४–२, एभर्टनले हडर्सफिल्डलाई १–० र वल्भ्ले वेस्टहामलाई ३–० गोलले हराएको छ ।