भारतले नेपाली भूमि फिर्ता नगरेर जघन्य अपराध गरेको छःफणीन्द्र नेपाल

१२ माघ २०७५, शनिबार १३:३८

काठमाडौँ सुगौली सन्धीका क्रममा गुमेको नेपाली भूमि भारतले फिर्ता गर्नुपर्ने माग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले गर्नु भएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि फिर्ता नगरेर जघन्य अपराध गरेको आरोप समेत लगाउनु भएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत डेढ दशकदेखि १८१६ मार्च ४ मा बेलायतसँग भएको सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी जमिनमा भारतले कायम गरेको उपनिवेशको तत्काल अन्त्यको माग गर्दै आएको कुरा पनि विज्ञप्तिमा स्मरण गरिएको छ ।

‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा छिमेकी देश इन्डियाको ७० औँ गणतन्त्र दिवसका अवसरमा भारतीय जनताप्रति हार्दिक बधाई र कृतज्ञता ज्ञापन गर्दछ । तर १९४७ अगस्त १५ यता विगत ७३ वर्षदेखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन कब्जा गरेर त्यहाँ गणतन्त्र दिवस मनाउनु प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारको घोर अपमान हो’, विज्ञप्तिमा भनिएको छ ।