फैसला उल्टी न्यायको एउटा प्रक्रिया होः नवनियुक्त प्रधानन्यायाधीश

१८ पुष २०७५, बुधबार १५:१७

काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पदभार ग्रहण गरे लगत्तै पत्रकारसँग ‘भष्टाचार र अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति लिएको’ स्पष्ट पार्नु भयो ।

पत्रकारहरुले सोधेको प्रश्नमध्ये एउटा प्रश्न थियो –‘भ्रष्टाचार र लेनदेनसँग सम्बन्धित धेरै फैसला उल्टी भयो । पहिले भ्रष्टचारी ठहर भएकाहरुले धमाधम फैसला उल्टी हुँदै सफाइ पाउन थाले । मुद्दा पार्ने सम्बन्धमा पनि आफू अनुकूल न्यायाधीशको खोजी हुन थाल्यो । यसबारे के भन्नुहुन्छ ?

लगत्तै प्रतिक्रिया दिएका प्रधानन्यायाधीश राणाले फैसला तथ्यमा आधारित हुने भन्दै फैसला सुल्टी र उल्टीको सम्बन्धमा धेरै चिन्ता नलिन पत्रकारलाई सुझाव दिनु भयो । उहाँले भन्नु भयो , ‘फैसला उल्टी न्यायको एउटा प्रक्रिया हो । यो भइरहन्छ । फैसला उल्टिन्थ्यो, उल्टिन्छ । उल्टीको विषयमा धेरै चिन्ता नलिनुस् ।’

फैसला उल्टीको विषयमा प्रधानन्यायाधीशले केही गम्भीर कुरा बारे खुलासा गर्नु होला भन्र्ने धेरैको जिज्ञासा थियो । सुरुवातमै ‘फैसला उल्टीको विषय धेरैको चासोको विषय भएको’ भन्दै जवाफको सुरुवात गर्नु भएको राणाले उल्टीको सम्बन्धमा दिएको जवाफले भने धेरैलाई निराश बनायो ।