आजदेखि बुटवलमा गणित सम्मेलन

२९ पुष २०७५, आईतवार १३:४३

बुटवल, गणित विषयका समस्या पहिचान, संबोधन र निराकरण गर्ने उद्देश्यसहित आज आइतबार देखि बुटवलमा सातौँ राष्ट्रिय गणित कार्यशाला हुँदैछ । कार्यशालामा नेपाल र भारतका विभिन्न विश्वविद्यालयका प्रोफेसरदेखि प्राध्यापक गरी २ सय ५० जना सहभागी हुनेछन ।

उनीहरू मध्येबाट १ सय ७ वटा कार्यपत्र प्रस्तुत हुने नेपाल गणित समाजले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । समाजका अध्यक्ष डा चेतनाथ भट्टले आधुनिक प्रविधिसँग गणित विषयलाई आवधिक गराउँदै लैजाने तथा विश्वमा देखिएका आधुनिक प्रविधिलाई पनि नेपालमा सहजै भित्राउने योजनामा आफूहरू रहेको भट्टले बताउनुभयो ।
पछिल्लो समय गणित विषयमा धेरै विद्यार्थीहरू अनुत्तीर्ण हुन थालेपछि यसलाई एच्छिक विषय बनाउने भन्ने बारे पनि चर्चा चलेको छ तर समाजले गणितलाई अनिवार्यबाट हटाउन नहुने बताउँदै आएको छ ।
चार दिनसम्म संचालन हुने उक्त कार्यक्रमको प्रथम दिन त्रिभुवन विश्वविद्यालयका गणित विषयका वरिष्ठ प्राध्यापकहरुद्वारा बुटवल बहुमुखी क्याम्पसमा एक कार्यशाला गोष्ठीको आयोजना गरिने स्थानीय व्यवस्थापन समितिका संयोजक न्यू होराइजन कलेजका सहायक क्याम्पस प्रमुख गोपालप्रसाद आचार्यले जानकारी गराउनुभयो ।
बुटवलको एभिन्यू होटलमा संचालन हुने उक्त कार्यक्रमको सहआयोजकको रुपमा त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय तथा नेपाल सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नंं। ५ रहेका छन् ।
प्रदेश नंं। ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त कार्यपत्रहरु तीनवटा समानान्तर कार्यक्रमहरुमा प्रस्तुत हुने संयोजक आचार्यले बताउनुभयो । यसको साथै भारतका विभिन्न विश्वविद्यालयबाट समेत कार्यपत्रहरु प्राप्त भइसकेकाले यो गणित सम्मेलन यस क्षेत्रको अनुसन्धानमूलक कार्यक्रमको हिसाबले प्रथम र अभूतपूर्व हुने दावी स्थानीय आयोजकको रहेको छ ।

कार्यक्रममा विभिन्न सेसनहरुमा दिल्ली तथा मेरठ विश्वविद्यालयबाट समेत आउने गणित विषयका प्राध्यापकहरुले समेत आफना प्रस्तुतीहरु राख्ने बताइएको छ । सहभागिता, कार्यक्रम र उद्देश्यका हिसाबले यो कार्यक्रमले यस क्षेत्रको गणितविषयको अध्ययन अनुसन्धान र पठनपाठनमा मौलिक परिवर्तनहरु ल्याउने विश्वास गरिएको छ । स्थानीय व्यवस्थापन समितिका संयोजक न्यू होराइजन कलेजका गोपालप्रसाद आचार्य, प्रचारप्रसार समितिको संयोजकमा तिलोत्तमा कलेजमा तुल्सीप्रसाद सापकोटा तथा आर्थिक व्यवस्थापन समितिका संयोजकमा भैरहवा बहुमुखी क्याम्पसका पिताम्बर तिवारी रहनुभएको छ ।