२७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस यसरी मनाइयो बुटवलमा

१७ मंसिर २०७५, सोमबार १४:४८

बुटवल–

हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन मनाइँदै आएको २७ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस प्रदेश नम्बर ५ मा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मलाइ गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर ५ को आयोजानमा बुटवलमा पनि यो दिवस मनाइएको हो । यस्तै प्रदेश नम्बर ५ कै नेपालगञ्ज, दाङ्ग, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लामा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

आज बुटवलमा राजमार्ग चौराहबाट अपाङ्गता भएका व्याक्ति तथा संघ संस्थाहरुको सहभागितामा र्याली निकालियो । र्याली राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ५ को कार्यालय नयाँ बसपार्क अगाडी पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै ५ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले अपाङ्गहरु बारेका गरेका सन्धीहरु कार्यान्यन गर्न नन्जुसाई गर्न नहुने बताए । उनले ५ नम्बर प्रदेशमा अपाङ्गमैत्री संरचना बनाउनुका साथै नीति पनि सोही अनुसारको तय गरिने प्रतिबद्धता जनाए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ की अध्यक्ष देवीदत्त अचार्यले प्रदेश ५ मा हाल डेढ लाख अपाङ्गता भएका व्याक्तहरु रहेको जानकारी दिँदै उनीहरुको अधिकारको लागि लडिरहने बताए । नेपालमा यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो जुन हरेक वर्ष नेपाल सरकारको नेतृत्वमा सबै सरोकारवालाहरूको सहभागितामा विभिन्न कार्यक्रमहरू गरि मनाउने गरिन्छ ।