सरकारले आफ्नो नीति कार्यक्रम सहि बनाएको छः प्रदिप ज्ञवाली

८ पुष २०७५, आईतवार १४:१६

काठमाडौं– नेकपाका नेता तथा स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले सरकारले गरेका नियुक्ति पार्टीको छलफलबाटै गर्ने गरेको दावी गर्नु भएको छ । परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन सही भएको भन्दै सरकारले गर्ने नियुक्तिहरु पार्टी नेतृत्वको सहमतिमै हुने गरेकाले त्यसप्रति शंका नगर्न अन्य सदस्यहरुलाई आग्रह गर्नु भएको हो ।

जारी स्थायी समिति बैठकमा अध्यक्षद्धयले पेश गरेको प्रतिवेदनमा भाग लिदै समग्रमा प्रतिवेदन सही भएपनि केही विषय परिमार्जन आवाश्यक रहेको बताउनु भयो । ‘प्रतिवेदन समग्रमा राम्रो छ । धेरै कुरा समेटिएका छन्’ ज्ञवालीको भनाई थियो । ज्ञवालीले सरकारका नीति तथा कार्यक्रम राम्रा भएपनि कार्यन्वयनमा केही समस्या देखिएको स्वीकार गर्नु भयो । ‘सरकारले आफ्नो नीति कार्यक्रम सहि बनाएको छ
। तर संरचनाहरु प्रयाप्त छैनन् । जसले गर्दा कार्यान्वयनमा केही समस्या देखिएको हो ।’ ज्ञवालीले बैठकमा भन्नु भएको थियो । त्यस्तै उहाँले संरचना अभावमा सरकारका प्रधानमन्त्रीले लिएको उदेश्य पुरा गर्न कठिनाइ भइरहेको भन्दै सरकारको आलोचना सरकारात्मक कुराहरुको भन्दा नकारात्मक विषयमा बढी हुने गरेकोमा आपत्ति जनाउनु भएको थियो ।उहाँले संगठनात्मक एकिकरण गर्न ढिला भएको कुरा जायज भएको भन्दै अब त्यसलाई टुङग्याउनुपर्ने धारणा राख्नु भएको थियो ।उनले सरकारका नियुक्तिहरु पार्टीको सल्लाहविनै हुने गरेको भन्ने भनाइको पनि प्रतिवाद गरेका थिए । ‘सरकारका नियुक्तिको जिम्मा प्रधानमन्त्रीको हुन्छ त्यसमा पनि सचिवालयको छलफलबाटै नियुक्ति गर्ने गरिएको छ । सचिवालयमा पार्टीका शीर्ष नेताहरु हुनुहुन्छ । त्यसैले त्यो उहाँको अधिकारको कुरा पनि हो’ ज्ञवालीले भनेका थिए । यसअघि बोल्ने स्थायी कमिटी सदस्यहरुले सरकारले गर्ने नियुक्तिहरु पार्टीमा छलफल नै नगरी एकपक्षीय हुने गरेको भन्दै विरोध गरेका थिए ।