समायोजन अध्यादेशविरुद्ध निजामति कर्मचारी आन्दोलित

५ पुष २०७५, बिहीबार १४:३५

काठमाडौं– कर्मचारी समायोजन अध्यादेशको विरोधमा सिंहदरवारभित्रै प्रदर्शन गरेका निजामति कर्मचारीहरुले थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरेका छन् ।

संघर्षका कार्यक्रम घोषणा गर्न बिहीबार दिउँसो कर्मचारी संघठनको बैठक बस्न लागेको नेपाल निजामति कर्मचारी संगठनका नेताले बताएका छन ।

अध्यादेशको विरोधमा उनीहरुले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका थिए ।

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश विभेदकारी भएको उनीहरुको भनाई छ ।समायोजन अध्यादेशले बरिष्ठ कर्मचारी संघमै बस्ने कनिष्ठहरू स्थानीय तह वा प्रदेशमा खटिने व्यवस्था गरेकाले खटिएर जाने कर्मचारीलाई फेरि संघमा फर्कने बाटो बन्द गरिएकाले संघर्ष गर्नुपरेको नेपाल निजामति कर्मचारी संगठनका नेताहरुको भनाई छ ।

कर्मचारी समायोजन स्वेच्छिक बनाउनु पर्ने उनीहरूको भनाइ छ । ‘हिजो संकेतस्वरुप सिंहदरवारमा प्रदर्शन गरिएको हो । थप कार्यक्रम घोषणा गर्न आज २ बजे सिंहदरवारमा बैठक बस्दैछ ।

गत मङ्सिर २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ को विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।यो अध्यादेशले सहसचिव भन्दा तलका कर्मचारीलाई सरुवा बढुवा लगायतमा असर पर्ने कर्मचारीहरुको दावी छ ।