सक्कली सुनमा धातु लगाएर ठगी गर्ने ६ जना भारतीय पक्राउ

१३ पुष २०७५, शुक्रबार १०:५८

भोजपुर – भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रवीन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेका छन ।पक्राउ परेका उनीहरुलाई बिहीबार भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।