राजसंस्थाप्रति अझै पनि जनतामा आस्था र विश्वास छः कमल थापा

६ पुष २०७५, शुक्रबार ११:३८

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दाबी गरेका छन् । पोखरामा पूर्वराजा ज्ञानेन्द्र आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास रहेको पुष्टि गरेको थापाले बताएका छन् ।शुक्रबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले वीपी कोइरालाले प्रतिपादन गरेको हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा कांगे्रस एकदिन आएरै छाड्ने विश्वास व्यक्त गरेका हुन् । उनले आगामी फागुनबाट राप्रपा ‘जनसंघर्ष’ मा उत्रिने बताए ।

राप्रपा अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्र पोखरा आउँदा उनलाई स्वागत गर्न आएको भीडले राजसंस्थाप्रति अझै पनि जनतामा आस्था र विश्वास छ भन्ने देखाएको बताए । उनले पोखरामा रहँदा पूर्वराजा ज्ञानेन्द्रसँग भेट हुने सम्भावना रहेको बताए पूर्वराजा ज्ञानेन्द्र पुस २ गतेदेखि पोखरामा छन् । उनी १६ दिन पोखरामा रहने बताइएको छ । राप्रपा अध्यक्ष कमल थापा भने राप्रपाको गण्डकी स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन् विहीबार पोखरा आएका हुन् ।अध्यक्ष थापाले राप्रपाले आगामी फागुनबाट हिन्दु राष्ट्र निर्माणलाई प्रमुख मुद्दा बनाएर संघर्ष शुरु गर्ने बताए । जन संघर्ष राजसंस्थाको पुर्नस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनका लागि पनि भएको बताए । जन संघर्षलाई बेवास्ता गरे त्यसको परिणाम राम्रो नहुने थापाले चेतावनीसमेत दिए ।