पार्टी र सरकारको सम्बन्ध

११ पुष २०७५, बुधबार १५:१८

पुष्पकमल दाहाल

बैठकमा छलफल र बहस राम्रो भएको छ । यसले पार्टी एकतालाई गम्भिर बनाउन र सरकारलाई सफल बनाउन योगदान पुर्याउँछ भन्ने विश्वास गरेको छु । यद्यपि छलफल गर्दा पूर्व एमालेभित्रको विवादमा छलफल केन्द्रीत भएजस्तो र पूर्व माओवादी केन्द्रका नेताहरु छलफलमा आफूलाई पुरै प्रस्तुत गर्न हिच्किचाए जस्तो, रक्षात्मक भए जस्तो कहिलेकाहीँ अनुभूति हुन्थ्यो । तरपनि समग्रमा बैठकको छलफल अत्यन्तै राम्रो भयो । यसले ऐतिहासिक रुपमा पार्टी एकतालाई बलियो बनाउने र पार्टी राजनीतिलाई सही दिशातिर लैजान योगदान गर्नेमा विश्वस्त छु ।

हामीले मुख्यरुपमा अहिले केही विषयमा ध्यान दिनुपर्छ । अहिलेको राजनीतिक परिवर्तनको प्रकृति, चरित्र त्यसको आयातन के हो भन्ने विषयमा अब गम्भिर छलफल हुनुपर्ने हो कि यो विषयमा एकत्व नभएको हो कि भन्ने मलाई लाग्यो । यो परिवर्तन मात्रात्मक परिवर्तन हो वा गुणात्मक परिवर्तन हो मलाई लाग्छ, यो परिवर्तन गुणात्मक परिवर्तननै हो ।

हामी जनयुद्धकालमा पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने भन्थ्यौँ । अन्तिममा पार्टीलेनै बन्दुक चलाउने हो भन्ने मान्यतामा विज हुन्थ्यौँ । अहिलेको बन्दुक भनेको सरकार हो । त्यसकारण पार्टीले सरकार चलाउने हो भन्ने सैद्धान्तिक मान्यतामै अगाढि बढ्नुपर्छ ।
यो परिवर्तनले हाम्रो विचार, राजनीति र पार्टी एकताको कार्यभारलाई पनि ‘गुणात्मक’ ढंगले अगाडि बढाउन दिशानिर्देश गर्छ । ‘मात्रामा’ बुझियो भने हिजोको जोड घटाउमा मात्रै हामी जान्छाँै । त्यसकारण यो गुणात्मक हो भन्ने बुझाई मेरो छ । हाम्रो पार्टीको विचार, राजनीति र एकता किन आवश्यक पर्यो भन्नलाई पनि त्यसरुपमा बुझ्नु पर्छ ।

यसमा गम्भिर छलफल नभई पार्टी एकता सुदृढ हुँदैन । मलाई के विश्वास छ भने साविकको एमाले र माओवादी केन्द्र पनि यो परिवर्तन गुणात्मक हो भन्ने कुरामा समझदारी भएरनै पार्टी एकता भएको हो भन्ने सबैको बुझाई छ । तर, अहिले पछाडि फर्केर बहस जान थाल्यो कि भन्ने मलाई चिन्ता छ । पुरानै मेरो कुरा सहि हो भन्ने ढंगले छलफल गर्यौँ भने सही दिशामा लैजादैन र अन्तरसंघर्ष पनि अस्वस्थ हुने दिशातिर जान्छ । त्यसकारण यही कुरामा हाम्रो एकता हुनुपर्छ ।

राजनीतिक प्रतिवेदनमा जति पनि आलोचना र टिप्पणी भएका छन्, सही आलोचना र टिप्पणीलाई आत्मसाथ गरेर परिमार्जित प्रतिवेदन तयार गर्नुपर्छ । त्यसले नै अहिलेको आवश्यकता र पार्टी एकतालाई सुदृढ गर्छ । सरकारले पनि सामूहिक वा पार्टीभित्रको छलफलको आधारमा महत्त्वपूर्ण नीति र अरु निर्णयहरु गर्नुपर्छ । त्यसो भएमात्रै सरकार पनि सफल हुन्छ ।
नेकपा बैठकमा प्रचण्डले राख्नु भएको मन्तब्यको केहि अशं