पार्टी नेतृत्व नै गुटमा संलग्न छः अष्टलक्ष्मी शाक्य

५ पुष २०७५, बिहीबार १२:४३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीको जारी बैठकमा नेताहरूले पार्टीले न्यायोचित ढंगले जिम्मेवारी बाँडफाँट गर्न नसकेको गुनासो गरेका छन् । बुधबार बैठक सकिएलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वले जिम्मेवारी बाँडफाँट गर्दा ‘कसैलाई खातैखात, कसैलाई रित्तो हात’ गरिएको गुनासो गरिन् ।

“पार्टी नेतृत्व नै गुटमा संलग्न छ, आफ्नो आफ्नो मान्छे तानेको छ, योग्यता क्षमता भएकालाई वास्ता छैन । त्यसैले गुटबन्दी अन्त्य गरौँ । कसैलाई खातैखात छ, कोही जिम्मेवारीविहीन छन्,” उनले भनिन् । उनले पार्टी एकताको मर्म र भावना नेतृत्वले बोक्न नसकेको गुनासो गरिन् । “पार्टी एकता भएको यत्रो समय भयो । सबैतिर बहुमत छ । तर पार्टी एकता भएको सात महिनासम्म पनि एकता टुंगिन सकेन,” उनले भनिन् ।

उनले एकताले गति लिन नसक्दा पार्टीका सकारात्क कुरा पनि प्रचार गर्न नसकेको टिप्पणी गरिन् । “सरकारले राम्रो गरेको पनि होला, तर बाहिर आउन सकेन । जनताले थाहा पाएनन्, प्रभावकारिता भएन,” उनले भनिन् । त्यस्तै उनले एसिया प्यासिफिक सम्मेलनले पार्टीको छवि धूमिल तुल्याएको भन्दै नेतृत्व आत्मआलोचित हुनुपर्ने जिकिर गरिन् ।

“यस्ता खालका सम्मेलन गर्नै हुँदैनथ्यो, यसले पार्टीको छवि बिगार्यो । यसबारेमा पनि पार्टीमा छलफल हुनुपर्थ्यो,” उनको जोड थियो । त्यस्तै, उनले वामदेव गौतमको विचारमाथि समर्थन जनाउँदै एक व्यक्ति एक पदको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।