पत्रकारहरु सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएः रक्षामन्त्री पोखरेल

१५ पुष २०७५, आईतवार १४:४३

काठमाडौं– उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारहरुको आलोचना गर्नु भएको छ ।उपप्रधानमन्त्री पोखरेलले जनतालाई सही सूचना दिने भन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरुले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेको उल्लेख गर्दै आपत्तिसमेत जनाउनु भयो ।

आइतबार नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तापक्ष र प्रतिपक्ष बन्ने होडमा जनतालाई गलत सन्देश दिने काम पत्रकारहरुले गर्न नमिल्ने पनि स्पष्ट पार्नु भयो । आफ्ना कमजोरी भए जस्ताकोतस्तै जनतामा लगिदिए आफूले पत्रकारहरुलाई सलाम गर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरुले विषयमा आधारित भएर ठिकलाई ठिक भन्न सकेमात्रै जनताले सही सूचना पाउने र त्यसले राष्ट्रको पनि हित गर्ने स्मरण गराउनु भयो ।