नेपालले गौतमको प्रस्ताव अस्वीकार गरे

२ पुष २०७५, सोमबार १२:११

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा वामदेव गौतमले पेश गरेको ‘फरक मत’लाई केन्द्रीय सचिवालयका चार नेताको साझा दस्तावेज बनाउने प्रयास असफल भएको छ ।

बरिष्ठ नेता माधवकुमार नेपालले गौतमको प्रस्ताव अस्वीकार गरेपछि सचिवालय बैठक बहिस्कार गरेका चार नेताको संयुक्त दस्तावेज स्थायी कमिटीमा नगएको हो । अन्य नेताले साझा दस्तावेज बनाउन नचाहेपछि गौतमले आफ्नो व्यक्तिगत विचारका रुपमा फरक मतलाई स्थायी कमिटीमा पेश गरेका छन् ।गौतमनिकट स्रोतका अनुसार गत शनिवार स्थायी कमिटी बैठक बस्नुअघि माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग गौतमले बैठक गरेका थिए । उनले आफ्नो ‘फरक मत’ को मस्यौदा त्यसअघि नै ती नेताहरुलाई अध्ययनका लागि दिइसकेका थिए । यी चारैजना नेताले सचिवालय बैठक बहिस्कार गरेपछि उनीहरुले स्थायी कमिटी बैठकमा अध्यक्षको प्रतिवेदनलाई चुनौति दिने अनुमान गरिएको थियो ।स्रोतका अनुसार गौतमले आफ्नो मस्यौदालाई चारैजना नेताको साझा दस्तावेजका रुपमा स्थायी कमिटी बैठकमा लैजान प्रस्ताव गरेका थिए । तर, माधव नेपालले तत्काल यसलाई गौतमले व्यक्तिगत मतका रुपमा लैजानु उपयुक्त हुने भन्दै साझा दस्तावेज बनाउने प्रस्ताव अस्वीकार गरेका थिए । नेपालले अस्वीकार गरेजस्तै झलनाथ र नारायणकाजीले पनि त्यसलाई बोक्न चाहेनन् ।