नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्रः अध्यक्ष थापा

२ पुष २०७५, सोमबार १४:२५

कैलाली– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित गर्न त्यति सहज नभएपनि असम्भव पनि नभएको बताएका छन । धनगढीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले पार्टीको वर्तमान कार्यनीति सङ्गठन निर्माण, जनपरिचालनसम्बन्धी कार्यक्रम, पार्टी एकता र फागुन ७ गतेदेखि जनसङ्घर्ष कार्यनीति लिएर आफ्नो पार्टी अगाडि बढिरहेको बताए ।

नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताए । उनले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणालीअन्तर्गत सृदृढ, बलियो स्थानीय स्वायत्त शासन नै उपयुक्त हुने र यसले मात्र देशलाई स्थायित्व दिनसक्ने बताए ।