नेकपाका नेताहरुले आफ्नो शक्ति बुझ्न सकेनन्ः बिष्णु रिमाल

५ पुष २०७५, बिहीबार १३:५३

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टी नेतृत्व आत्मानिन्दक हुन आवश्यक नभएको बताएका छन् ।केही दिनदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएका छन् तर, बिहीबार बैठकमा प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका स्थायी कमिटी सदस्य रिमालले नेतृत्वको बचाउ गरे ।

‘हनुमानलाई आफ्नो शक्ति थाहा हुँदैन’ भने जस्तै नेकपाका नेताहरुले आफ्नो शक्ति बुझ्न नसकेको उनको टिप्पणी छ । बैठकमा अधिकांश नेताहरु आत्मभत्र्सनाको शैलीमा प्रस्तुत भएको भन्दै उनले यो आवश्यक नभएको बताए । अहिले वर्ग संघर्ष मुख्य भएको र विरोधीहरुले सरकार तथा पार्टी नेतत्वविरुद्ध प्रचार गरिरहेको भन्दै उनले भने, ‘आत्मालोचना राख्नु भनेको आत्मानिन्दक हुनु हो । यस्तो बेलामा आत्मानिन्दक हुन उचित हुँदैन ।’

अहिले सरकार र पार्टी एकतामा संक्रमणकाल रहेको भन्दै उनले यस्तो बेला राम्रा र योग्यहरु बाहिर हुन सक्ने बताए । संक्रमणकालमा ‘रास्कल आउट’ अर्थात ‘खराब मान्छेहरु बाहिर निकाल’ हुन नसक्ने उनको धारणा थियो ।

नेता रिमालले सामाजिक सुरक्षा कार्यक्रम घोषणा नयाँ युग नै भएको बताए । ०५१ सालमा १०० रुपैयाँ मात्र दिएको तर, अहिले यो भन्दा धेरै गरेको भन्दै ०५१ सालको सरकारको मात्र गुणगान गएकोमा असन्तुष्टि जनाएका छन् ।