गैरकानुनी कामलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिन्नः मन्त्री विष्ट

३ पुष २०७५, मंगलवार १०:२१

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीमा लुट्ने कुरालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा श्रम तथा रोजगार मन्त्रालयको आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले अदृश्य, अपारदर्शी र गैरकानुनी कामलाई कुनै पनि हालतमा स्वीकार नगरिने बताएका हुन् ।

उनले आमजनताको हितमा सुधार गरिने काम रोक्न कुनै पनि प्रकारका अदृश्य शक्तिका प्रयत्नको कुनै मूल्य र औचित्य नहुने दाबी गरेका छन् ।उनले राष्ट्रको हितमा गरिने काममा षड्यन्त्रले रोक्न नसकिने बताउँदै उनले आप्रवासी नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरेको पनि उल्लेख गरे ।

मन्त्री विष्टले शुभकामना जारी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न संघसस्था, श्रमिक, नागरिक समाज तथा सरोकारवालाहरुको सहभागितामा सप्ताहव्यापी रुपमा यो दिवस मनाइने जानकारी गराएका छन् ।