कार्यालय जनकपुर बर्दिवास सार्न खोजिएको भन्दै आन्दोलन

१७ मंसिर २०७५, सोमबार १४:३८

जनकपुर–

प्रदेश नम्बर २ सरकारले यातायात व्यवस्था कार्यालय जनकपुरलाई आफ्नो मातहत ल्याउन पहल थालिरहेको बेला संघीय सरकारले हस्तक्षेप गर्न खोजेको सरोकारवालाहरुले आरोप लगाएका छन् ।

प्रदेश सरकारले वीरगंज र लहानको कार्यालयलाई समेत आफू मातहतमा ल्याउन लागेको बेला संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै कार्यालयलाई आफ्नो मातहत ल्याएर जनकपुर कार्यालयलाई पनि बर्दिवास सार्न लागेको उनीहरुको आरोप छ ।

जनकपुरकै शाखा कार्यालयको रुपमा रहेको बर्दिवास स्थित यातायात कार्यालयलाई दैनिक ३ सय ६० थान सवारी चालक अनुमतिपत्र जारी गर्न यातायात व्यवस्था विभागले अनुमति दिएको छ भने जनकपुरस्थित यातायात व्यवस्था कार्यालयलाई दुईपांग्रे र चार पांग्रे गरी मात्र १ सय ८० वटा लाईसेन्स प्रदान गर्न स्वीकृति दिइएको छ ।

जबकी यसअघि जनकपुर स्थित यातायात व्यवस्था कार्यालयले दैनिक ५ सय भन्दा बढि सवारी चालक अनुमति पत्र वितरण गर्दै आएको थियो ।नेपाल ड्राइभिङ संघका केन्द्रिय सदस्य इन्द्रेश कुमार झाले संघीय सरकारले प्रदेश सरकार मातहत आएका यातायात व्यवस्था कार्यालय जनकपुरलाई पंगु बनाउने चलखेल गरेको आरोप लगाए ।

यातायात मन्त्री रघुवीर महासेठकै चलखेलमा कार्यालय सार्न लागिएको भन्दै सर्वसाधारणले सोमबार यातायात व्यवस्था कार्यालय जनकपुरको कामकाज २ घण्टा सम्म ठप्प पारेका छन् ।

धनुषा चेम्बर अफ कमर्सले एक विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था कार्यालय जनकपुर बर्दिबास सार्न खोजिएको भन्दै आपत्ति जनाएको छ । कमर्सका अध्यक्ष विजय साहले नियोजित रुपमा यातायात व्यवस्था कार्यालय जनकपुरबाट सारिए कडा संघर्ष गर्ने चेतावनी दिए ।

कार्यालयका निमित्त प्रमुख अजिम मन्सुरले यातायात कार्यालय सार्ने हल्ला निराधार रहेको बताउँदै दैनिक सवारी साधनको लागि दिइने अनुमति कोटामा कटौती भएको चाँही सत्य भएको बताए । यस सम्बन्धमा यातायात विभाग कार्यालयका डिजी लवन्य कुमार ढकालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।