९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

१८ कार्तिक २०७५, आईतवार ११:२४

विराटनगर– नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात विद्युतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ ।

मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातीमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाइएको हो । पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर राखेर नेपालमै पहिलो रेकर्ड कायम गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु रोग बिशेषज्ञ डा।राजेश नेपालको दावी छ ।

नेपालमा यत्ति धेरै बृद्ध अवस्थामा पेसमेकर राखिएको रेकर्ड अहिलेसम्म थाहा छैन । डा।नेपाल भन्छन् ‘९५ बर्षीय बृद्धलाई पेसमेकर राखिएको यो नै नेपालको पहिलो रेकर्ड हो ।यता राजधानीको गंगालाल अस्पतालका कन्सलटेन्ट कार्डियोलोजिष्ट डा।रोसन राउतले ९० बर्ष हाराहारिका कतिपय बृद्धबृद्धालाई पेसमेकर राखिएको भएपनि बढीमा कति उमेरसम्मका बृद्धबृद्धालाई राखिएको छ भन्ने यकिन नभएको बताए । पेसमेकरले मुटुको धड्कन कम हुँदा पूर्व निर्धारित गतिमा बिद्युतीय करेन्ट निकालेर मुटुलाई उपयुक्त गतिमा धड्काउँन सहयोग गर्छ । उपचार पश्चात निको भएर देवान अहिले घर फर्किएका छन् ।