राप्रपा असन्तुष्ट समूहले बोलायो भेला

१५ कार्तिक २०७५, बिहीबार ०९:०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ठूलो समूह पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट बनेको छ । लगातार आन्तरिक भेला गर्दै आएको समूहले अब तीन वटै राप्रपाका असन्तुष्ट नेताहरुको भेला बोलाउने तयारी गरेको छ ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र डा। प्रकाशचन्द्र लोहनीको एकिकृत राप्रपा राष्ट्रवादीका असन्तुष्ट नेताहरूको तिहारअघि नै राजधानीमा ‘बृहत भेला’ हुन लागेको स्रोतले जानकारी दिएको छ ।‘पुरानै पार्टीहरूबीच एकता गरेर जाने कि नयाँ पार्टी गठन गर्ने भन्ने निर्णय बृहत भेलाले गर्नेछ’, । तीन वटै पार्टीका मुल नेतृत्वकै कारण राप्रपा टुक्राटुक्रा भएको ठहरसहित उनीहरू छुट्टै भेलाको तयारीमा लागेका हुन् ।राप्रपा केन्द्रीय सदस्य अर्जुन राई भन्छन्,हामीले गरिरहेको छलफल कुनै नेताविरुद्ध होइन, राष्ट्रवादी वैकल्पिक शक्ति बनाउने एक मात्र उद्धेश्य हो ।

राप्रपा अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताहरूले आइतबार राजधानीस्थित होटल एलो(पगोडामा गोप्य भेला गरेका थिए ।वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा भएको भेलाले तीन वटै राप्रपाका असन्तुष्ट पक्षलाई समेटेर संयुक्त भेला गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।गोप्य भेलामा वरिष्ठ उपाध्यक्ष तामाङसहित उपाध्यक्षद्वय टंक ढकाल, दिलविकास राजभण्डारी, महामन्त्रीद्वय धवल शमशेर राणा र जयन्त चन्द, सहमहामन्त्री दिनेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू अर्जुन राई, गोविन्दराज खनियाँ, मुकुन्द गिरी, रामबहादुर शाह लगायत सहभागी थिए  ।असन्तुष्ट समूहमा रहेका अधिकांश नेता कमल थापा नेतृत्वको राप्रपामा आवद्ध छन् । पशुपतिशम्शेर राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक बनाउँदा उनीहरुले कमल थापालाई साथ दिएका थिए । अध्यक्ष  थापा भने एउटा चलायमान पार्टीमा कोही न कोही असन्तुष्ट हुनु स्वाभाविक भएको बताउँछन् ।