मनाङ मर्स्याङ्दी फाइनलमा

१६ कार्तिक २०७५, शुक्रबार ०९:१६

मनाङ मर्स्याङ्दी क्लब भुटानमा जारी गभर्नर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मनाङले एटीके रिजर्भ्समाथि ६–२ को भारी जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

खेलको सुरुवातदेखि नै गोलको वर्षा सुरु गरेको मनाङले आठौं मिनेटमा अञ्जन विष्टको गोलमार्फत अग्रता बनायो । ४३ औं मिनेटमा डोना थापाले टिमका लागि दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एटीकेले एक गोल फर्काएको थियो । दुई गोल गरेको मनाङले दोस्रो हाफमा चार गोल गर्यो । ५३ औं मिनेटमा डोनाले तेस्रो गोल गरे ।७६ औं मिनेटमा विमल रानाले चौथो गोल गरे । ८३ औं मिनेटमा डोनाले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । ८५ औं मिनेटमा सुजल श्रेष्ठको गोल मार्फत मनाङले ६–१ अन्तर मा पुर्यायो ।