प्रविधिको विकासमा सरकारले जोड दिएको छः मन्त्री पोखरेल

१६ कार्तिक २०७५, शुक्रबार १२:४९

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्रविधिको विकासमा जोड दिएको बताएका छन्।

मन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउन सरकारले विज्ञान तथा प्रविधिको विकासमा केन्द्रित भएर विभिन्न कार्यक्रम संचालन गरिरहेको दावी समेत गरे। शुक्रबार इन्टरनेट सोसाईटी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न सरकारले प्रविधिको विकासमा जोड दिएपनि त्यसलाई अघि बढाउन भने सहज नभएको पनि स्पष्ट पारे। विज्ञान तथा प्रविधिको विकास नेपालको लागि सपनाको विषय भएको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसलाई पूरा गराउन सरकारले शैक्षिक जनशक्ति प्रक्षेपणका लागि उच्च स्तरीय निर्देशक समिति समेत बनाएको पनि स्मरण गराए। मन्त्री पोखरेलले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले १० बुदे मार्ग चित्रनै सार्वजनिक गरेको पनि उल्लेख गरे। कार्यक्रममा इन्टरनेट सेवाको उपयोगका विविध विषयमा पनि छलफल गरिएको थियो।