‘प्रचण्ड’को विकास बजेट माडीमा केन्द्रीत

११ मंसिर २०७५, मंगलवार १६:२४

चितवन– चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास बजेट माडीमा केन्द्रीत रहेको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले निर्वाचनको समयमा माडी क्षेत्रबाट निकै आलोचना खेप्नुपरेको थियो ।

स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रमवापत निकासा भएको रकममा माडी क्षेत्र प्राथमिकतामा परेको हो । सो क्षेत्रको निर्वाचित सांसद संयोजक हुने गरी रु चार करोड विकास बजेट जिल्ला समन्वय समितिमार्फत् निकासा हुने गर्दछ ।

जिल्ला समन्वय समितिले उपलब्ध गराएको कार्यक्रम तालिकाअनुसार माडी नगरपालिका क्षेत्रका लागि रु एक करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । भरतपुर महानगरपालिकाका २० वटा वडाका लागि रु दुई करोड २७ लाख बजेट विनियोजन भएको छ । माडीमा नौ वटा वडा रहेका छन् ।
माडीका पूरै नगरपालिकामा २१ हजार ६७३ मतदाता छन् । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । ती सबै वडामा एक लाख ५० हजार २७३ मतदाता रहेका छन् जसमध्ये ६६ प्रतिशत हाराहारी क्षेत्र नं ३ मा पर्दछ ।