परराष्ट्र सेवाको सुब्बामा कम उत्तीर्ण, वैकल्पिक उम्मेदवार नै पुगेनन्

२८ कार्तिक २०७५, बुधबार ११:११

काठमाडौं । परराष्ट्र सेवाअन्तर्गत हालै लोकसेवा आयोगले लिएको नायब सुब्बा पदमा निकै कम उम्मेदवार उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेहरु थोरै भएपछि वैकल्पिक उम्मेदवार सिफारिस गर्नसमेत पुगेको छैन ।

लोकसेवा आयोगको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको विज्ञापनअनुसार काठमाडौं कार्यालयले हालै परराष्ट्र सेवाअन्तर्गत नायब सुब्बा पदको नतिजा सार्वजनिक गरेको थियो । परीक्षामा उत्तीर्ण भएका चितवनका सुशील घिमिरे र गुल्मीका दीपक घिमिरेलाई लोकसेवाले नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमा सिफारिस गरेको थियो ।

तर, उनीहरु शाखा अधिकृत पदमा पनि उत्तीर्ण भएकाले सुब्बाको जागिर नखाई शाखा अधिकृत पदमा पदस्थापन भए ।

त्यसपछि परराष्ट्र मन्त्रालयले उनीहरुको सट्टा दुई जना वैकल्पिक उम्मेदवारको सूची माग्यो । तर, घिमिरेद्वयको विकल्पमा दुई जना सुब्बाका उम्मेदवार पुगेनन् । त्यसैले लोकसेवा आयोगले एक जना मात्र वैकल्पिक उम्मेदवार सिफारिस गरेर पठाएको छ । सिफारिसमा पर्नेमा रिब्दिकोट–७ पाल्पाका कमल कुँवर छन् ।

लोकसेवा आयोगले पदपूर्ति गर्दा परीक्षामा उत्तीर्ण भएकाहरुमध्ये उत्कृष्ट अंक हासिल गर्नेलाई दरबन्दीअनुसार नियुक्तिका लागि सिफारिस गर्दछ । त्यससँगै वैकल्पिक उम्मेदवारहरुको सूची पनि प्रकाशित गर्दछ । नियुक्तिका लागि सिफारिस भएको व्यक्तिले कुनै कारणबस नियुक्ति नलिएमा वैकल्पिक उम्मेदवारको योग्यताक्रमको सूचीबाट पदपूर्ति गरिन्छ ।स्रोत, अनलाइनखवर