ने क पाभित्रको गुटगत विवाद खेलकुदमा

१५ कार्तिक २०७५, बिहीबार ०९:३९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ने क पा भित्रको गुटगत असमझदारीका कारण आठौं बृहत् राष्ट्रिय खेलकुद तथा १३ औं दक्षिण एसियाली खेलकुद साग आयोजनाको तयारी अन्योलमा परेको छ ।

अघिल्लो महिना ककनीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बैठकले मंसिर ८ बाट मध्यपश्चिमाञ्चलमा गर्ने तय भएको आठौं बृहत् राष्ट्रिय खेलकुद माघ २५ देखि गर्ने गरी सार्ने निर्णय गरेको थियो । यसैगरी आइतबार बसेको परिषदको पछिल्लो बोर्ड वैठकले फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३औं साग पनि ६ महिना सार्ने निर्णय गर्‍यो ।

भौतिक पूर्वाधार निर्माण तथा टिम तयारीमा पर्याप्त काम हुन नसकेको भन्दै दुवै ठूला खेलमेला सार्ने निर्णय गरिएको हो ।२४ दिनमात्र बाँकी रहँदा समेत राष्ट्रिय खेलकुद सार्ने निर्णय परिषदले सार्वजनिक गरेको छैन । युवा तथा खेलकुद मन्त्री परिषदको अध्यक्ष रहने तर कार्यकारी अधिकार भने सदस्य सचिवमा रहने व्यवस्था छ । एउटै दलका भए पनि मन्त्री जगतबहादुर विश्वकर्मा र सदस्यसचिव केशवकुमार विष्ट फरक गुटलाई प्रतिनिधित्व गर्ने भएकाले नेपाली खेलकुद समस्यामा परेको जानकारहरु बताउँछन् ।

 

मन्त्री विश्वकर्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन भने सदस्यसचिव विष्ट वरिष्ठ नेता माधवकुमार नेपाल गुटका हुन् । नेता नेपालकै अडानका कारण तीन वर्षअघि खेलाडी विदेश भगाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीका लागि निर्देशन दिँदा पनि सदस्यसचिव विष्टको पद जोगिएको थियो । उनलाई नियुक्ति गर्नु त्रुटिपूर्ण भएको भन्ने अख्तियारको निर्णयका कारण युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजीनामा दिनु परेको थियो ।

 

 

विष्टको चार वर्षे कार्यकाल आउँदो असारमा सकिँदैछ । त्यही कारण वर्तमान मन्त्री विश्वकर्मा पनि विष्टलाई कारवाही गर्ने भन्दा पनि सकेसम्म राष्ट्रिय खेलकुद र साग आयोजनाजस्ता ठूला योजना केही महिना पछि सरोस् भन्ने चाहनामा रहेको बताइछ । मन्त्री विश्वकर्मा र सदस्यसचिव विष्ट दुवै यस्तो भनाई ठाडै अस्वीकार गर्छन् ।सदस्य सचिव विष्टका अनुसार मिति सारेको निर्णय सार्वजनिक गरे ठेकेदारले काम ढिलो गर्लान् भनेर सार्वजनिक नगरेका हौं । तर राष्ट्रिय खेलदकुद चाँही तोकिएकै मितिमा हुन्छ । संयोगवश दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ पनि नेकपाकै नेता हुन् । श्रेष्ठ पार्टीमा नेपाल पक्षका नेता हुन् ।मन्त्री विश्वकर्माले कुनै समस्या नरहेको बताउँदै निर्धारित समयमै राष्ट्रिय खेलकुद हुने दाबी गरे । मन्त्री विश्वकर्माले भने, “माघको अन्त्यमा राष्ट्रिय खेलकुद हुन्छ ।