नेविसङ्घको विधान र उमेरहद विवादका कारण महाधिवेसन हुन सकेन।

१८ कार्तिक २०७५, आईतवार ०९:१९

काठमाडौं नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेसन तोकिएको समयमा हुन सकेन। विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेसनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेसन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेसन हुन नसकेको हो।

नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेसनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले आवश्यक निर्णय गर्न नसक्दा समस्या उत्पन्न भएको हो।नेविसङ्घ केन्द्रीय समितिको बहुमतको आधारमा उमेरहद हटाउने प्रस्ताव ल्याए पनि काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले उमेरहद लगाउने निर्णय गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए। त्यसपछि काङ्ग्रेसको केन्द्रीय समितिको बैठकसमेत हुनसकेको छैन।

वर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ गते सकिएको भए पनि तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गतेसम्मका लागि म्याद थपिएको थियो। नेविसङ्घले पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेसन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेसन, असोज १५ मा क्षेत्र अधिवेसन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेसन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेसन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेसन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेसन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो।