गोरु चोरेर काटेको आरोपमा तीनजना पक्राउ

१६ कार्तिक २०७५, शुक्रबार ०८:०३

गोरखामा गोरु चोरेर काटेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पालुङटार नगरपालिका ९ स्थित भूतिया सिमलका धननारायण श्रेष्ठको गोरु गत १२ गते चोरेर काटेको आरोपमा बिहीबार पक्राउ गरिएको हो।

धनबहादुरको गोरु चोर्ने पानपा–१ का ४५ वर्षका मनबहादर तामाङ रहेको ठाँटीपोखरी प्रहरी चौकीले बताएको छ। यसैगरी पानपा १ कै सीता तामाङ, र पानपा– ९ का अर्का मनबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरू तीनै जनालाई गौवध अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउने डीएसपी महेन्द्र नेपालले जानकारी दिए। गोरु काटेको सूचना पाएको प्रहरीले तामाङको घरबाट गोरु काट्न प्रयोग गरेको बन्चरो, रगत लागेको त्रिपाल ५१ किलो गोरुको मासुको सुकुटी समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।