कोटेश्वर–सुर्यविनायक सुरुङमार्ग निर्माण गर्न जापान तयार,

१३ मंसिर २०७५, बिहीबार ०८:४८

काठमाडौं ।

काठमाडौंको कोटेश्वर–सुर्यविनायक खण्डमा सुरुङमार्ग निर्माण गर्न जापान सरकार इच्छुक देखिएको छ । उक्त क्षेत्रमा विद्यमान ट्राफिक जामको दीर्घकालीन समाधानका लागि नेपाल सरकारले सुरुङमार्ग निर्माणको योजना अघि सार्दै आएकोमा पछिल्लो समय जापान सरकार उक्त खण्डमा सुरुङमार्ग निर्माणका लागि इच्छुक देखिएको हो ।

सो क्षेत्रमा सु्रङमार्ग निर्माणका लागि  जापान सरकारसँग पहिलो चरणमा छलफल गरेका छौं,” सडक विभागका उपमहानिर्देशक तथा सुचना अधिकारी मुक्ति गौतमले भने, “कति सवारी साधन गुड्ने कति लेनको सुरुङमार्ग बनाउनेबारे थप छलफलगरी चाँडै मन्त्रालयले डिपिआर तयार गर्ने जानकारी पाइएको छ ।”

कोटेश्वरदेखि भक्तपुरको सुर्यविनायकसम्म सुरुङमार्ग बनाउन जापान सरकार अघि सरेपछि सुरुङमार्ग निर्माणबारे सहमतिको थप तयारी अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।स्रोतका अनुसार केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जापन भ्रमणका क्रममा नेपाल सरकारका तर्फबाट उक्र क्षेत्रमा सुरुङमार्ग निर्माणको सहमति जुटेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग जापान सरकारको सो योजनामा सहमति जुटेपछि मन्त्रालय मातहतको सडक विभागको वैदेशिक सहायता महाशाखामा यसबारे छलफल भइरहेको विभागका उपमहानिर्देशक गौतमले बताए ।
गौतमले केही हप्तापछि नै उक्त सुरुङमार्ग अध्ययनको काम सुरु हुनेसमेत बताए ।सडक विभागका अनुसार सुरुङमार्गले सूर्यविनायक, जडीबुटी, कोटेश्वरहुँदै तीनकुनेसम्मको क्षेत्रलाई जोड्ने छ ।

कोटेश्वर क्षेत्रको ट्राफिक जाम व्यवस्थापन गर्न मन्त्रालयले भक्तपुरस्थित मनोहरा खोलामा अस्थायी पुल बनाएर एक लेनको अस्थायी सडक निर्माणको तयारीसमेत गरिरहेको मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।