ए डिभिजन लिगः संकटाको पोष्टमा आर्मीको ५ गोल आर्मी शीर्ष स्थानमा उक्लियो

१० मंसिर २०७५, सोमबार १३:२५

 

काठमाडौं ।

सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डको खेलमा संकटा क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटालाई आर्मीले ५  १ गोलअन्तरले पराजित गर्न सफल भयो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २, भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जमले गोल गरे । यता, संकटाका लागि भने इलोन म्याक्श्वेलले एक गोल गरेका थिए ।पहिलो हाफमा २  १ गोलअन्तरले अघि रहेको आर्मीले दोस्रो हाफमा भने थप ३ गोल गर्न सफल भयो ।

खेलको दोस्रो मिनेटमा नै आर्मीले पेनाल्टी पाएको थियो । सुरुवाती समयमा नै अग्रता बनाउने आर्मीले राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेन । आर्मीका लागि सन्तोष तामाङले प्रहार गरेको पेनाल्टी बारमा लागेर फर्किएपछि अग्रता बनाउनबाट बञ्चित भएको थियो ।खेलको नवौं मिनेटमा नै संकटाका इलोन म्याक्श्वेलले गोल गर्दै अग्रता दिलाएका थिए । तर, यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको १७औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई १ १ गोलको बराबरी दिलाएका थिए ।

खेलको ३०औं मिनेटमा आर्मीले अर्को गोल गर्न सफल भयो । यो पटक भने आर्मीका लागि कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई २ १ गोलको अग्रता दिलाएका थिए ।
खेलको ५२औं मिनेटमा संकटा क्लबले पेनाल्टी पाएको थियो । यो पेनाल्टीबाट गोल गर्दै २ २ गोलको बराबरी बनाउने संकटालाई ठूलो अवसर थियो । तर संकटाले पेनाल्टी मिस गरेपछि फेरी आर्मी खेलमा फर्किएको हो ।

खेलको ६३औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकबाट सुन्दर गोल गर्दै आर्मीलाई ३ १ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, ६६औं मिनेटमा नै टेक बहादुरले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४ १ गोलको फराकिलो अन्तरको अग्रता दिलाएका थिए ।आर्मीले एकपछि अर्को गोल गर्ने क्रममा खेलको ७७ औं मिनेटमा दिनेश हेन्जमको गोलबाट ५ १ गोलअन्तरको अग्रता बनाएको थियो । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल आर्मीले जितेको हो ।

जितसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्मीको ४ खेलबाट १० अंक भएको छ । अपराजित यात्रामा रहेको आर्मीले ३ खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । त्यस्तै लिगको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लब भने दोस्रो स्थानमा छ । मनाङको ३ खेलबाट ९ अंक रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको संकटाको ४ खेलबाट ९ अंक रहेको छ ।

एन्फा कम्प्लेक्सको खेल मैदानमा नै आज दिउँसो २ बजेर ३० मिनेटमा थ्रीस्टारले न्युरोड टिम एनआरटी सँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, हलचोकस्थित एपीएफको खेलमैदानमा दिउँसो २ बजेर ३० मिनेटमा नै विभागीय टिम नेपाल पुलिस क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।