आज नेकपा सचिवालय बैठक बस्दै

६ मंसिर २०७५, बिहीबार १३:१७

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा तल्ला कमिटिको एकीकरण, स्थायी कमिटी बैठकको एजेण्डा तय तथा सरकारको कामकारबाहीबारे छलफल गर्ने स्रोतले बताएको छ ।

आजको बैठकमा प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजनको लागि बनाइएको कार्यदलले आफ्नो प्रस्ताव पेश गर्ने छ ।

कार्यदलले तयार पारेको प्रस्तावमा शीर्ष नेताहरुको छलफल पछि स्थायी कमिटी बैठकको एजेण्डा तय गर्ने बताइएको छ ।

स्थायी कमिटी बैठक साउन यता बस्न सकेको छैन । त्यस्तै केन्द्रीय समितिको बैठक एक पटक मात्रै बस्न सकेको छ ।

तल्ला तहसम्मका कमिटीको एकीकरण प्रक्रिया नटुंगिदा र केन्द्रीय सदस्य लगाएत अन्य कमिटीका सदस्यहरुको कार्यविभाजन नहुँदा नेकपामा अन्योलता बढेको छ ।

पार्टी एकताको छ महिना वितिसक्दा पनि नेकपामा अहिलेसम्म पोलिटव्यूरो, आयोग लगाएत केन्द्रीय विभागहरु बन्न सकेका छैनन् । नेकपामा अहिले ९ सदस्यीय सचिवालय मात्रै सक्रिय छ ।